पत्रकार अम्बिका भण्डारीलाई कोशी प्रादेशिक पत्रकारिता पुरस्कार

२५ वैशाख २०८०, सोमवार
Image

विराटनगर, २५ वैशाख । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक एवम् रासस विशेष समाचारदाता अम्बिका भण्डारी (चन्द्रकला नेउपाने भण्डारी) कोशी प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर आइतवार विराटनगरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा पत्रकार भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।

पुरस्कारको नगद राशी रु. एक लाख रहेको छ । 

सोही अवसरमा कोशी प्रादेशिक पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु सोमनाथ सुसेली (अधिकारी), राजेश विद्रोही (यादव) र सटेन्द्र जबेगु (लिम्बु) पुरस्कृत हुनुभएको छ ।

वि.सं. २०६० सालमा विर्तामोडको पूर्वाञ्चल दैनिकबाट पत्रकारिता सुरु गर्नु भएकी पुरस्कृत पत्रकार भण्डारीको दुई दशक लामो निरन्तर पत्रकारिता यात्रामा जनसंसद् दैनिक, लोकतन्त्र पोस्ट र राष्ट्रिय समाचार समिति (रासस)मा विभिन्न जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव छ ।

उहाँले राससको चन्द्रगढीस्थित झापा कार्यालयको प्रमुखको रुपमा समेत कार्य गरिसक्नु भएको छ भने नेपाल पत्रकार महासंघ साविक एक नम्बर प्रदेश कार्य समितिको पूर्व कोषाध्यक्ष, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नारी सञ्चार गृह झापाको पूर्व अध्यक्ष जस्ता महत्वपूर्ण जिम्मेवारी उहाँले सम्हालिसक्नु भएको छ ।

पुरस्कार वितरण समारोहको अध्यक्षता आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले गर्नुभएको थियो भने मुख्यमन्त्री हिक्मत कार्की, नेपाल पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, सोमनाथ सुसेली (पुरस्कृत प्रतिभा) र अम्बिका भण्डारी (पुरस्कृत प्रतिभा)ले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतम, पूर्व अध्यक्ष विक्रम लुइँटेल, प्रेस चौतारी नेपाल कोशीका अध्यक्ष अबिजाल बिष्ट, नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ नवोदित, महासंघका जिल्ला अध्यक्षहरु क्रमश ः एकराज गिरी (झापा), सञ्जीव खनाल (मोरङ) र भरत खड्का (उदयपुर), नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतको उपस्थिति रहेको थियो ।